योङ्ग स्टार क्लवको ३५ औं साधारण सभा सम्पन्न


आ.ब. ०६७/६८ को लागि २ करोड १ लाख २ हजार २९४ रुपैयाको अनुमानित आय व्यय पारित १८ कार्तिक

योङ्ग स्टार क्लवको ३५ औं साधारण सभा सम्पन्न भएको छ । बिहिबार क्लवमा भएको साधारण सभाको उद्घाटन क्लवका सदस्य तुलसी राजभण्डारीले गर्नुभएको थियो । साधारण सभाले बार्षिक प्रतिवेदन पारित गर्दै नयाँ आर्थिक बर्षका लागि बजेट तथा कार्य योजना समेत पारित गरेको छ । सभाले कोषाध्यक्ष भोजनारायण राजभण्डारीले प्रस्तुत गर्नुभएको आर्थिक बर्ष २०६६/६७ को १ करोड ९९ लाख ७३ हजार ८६१ को खुद आय व्यय पारित गरेको छ । यसै गरी आर्थिक बर्ष २०६७/६८ को लागि २ करोड १ लाख २ हजार २९४ रुपैयाको अनुमानित आय व्यय समेत साधारण सभाले पारित गरेको छ । पारित खुद तथा अनुमानित आय व्ययमा योङ्ग स्टार क्लवको आन्तरिकको साथमा क्लव अन्तर्गत सञ्चालित विभिन्न परियोजना ६ वटा परियोजनाको बजेट सम्लगन रहेको कोषाध्यक्ष राजभण्डारीले जानकारी दिनुभयो ।

साधारण सभाले क्लव अन्तर्गतका विभिन्न विभाग तथा परियोजनाहरुको बार्षिक प्रगति प्रतिवेदन समेत पारित गरेको छ । सभामा क्लवका संस्थापक सदस्य बुद्धिकुमार राजभण्डारीले “उज्वल भबिष्यको लागि हाम्रो अभियान” नाराको मूल मर्मलाई आत्मसात् गर्दै क्लवका सदस्यहरु अघि बढ्नु पर्नेमा जोड दिनुभयो । राजभण्डारीले क्लवका सदस्यहरुमा क्लववाट फाइदा पाउनु पर्ने भावनाको मात्रै विकास हुँदै गएको भन्दै फाइदा लिने र सहयोेग गर्ने दुवै पक्षमा जोड दिएर काम गर्न सकेमा मात्रै क्लव दिगो रुपमा अघि बढ्न सक्ने बताउनुभयो ।
साधारण सभामा क्लवका अध्यक्ष बुद्धिनारायण श्रेष्ठले चालु आर्थिक बर्षका लागि क्लवको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
वि.सं. २०३४ सालमा स्थापित योङ्ग स्टार क्लवले हाल विभिन्न परियोजनाहरु मार्फत् सोलुखुम्बु जिल्लाका विभिन्न गाविसहरुमा काम गरिरहेको छ । क्लवले स्थानीय समुदायको जनचेतना अभिवृद्धिको कार्यक्रमलाई प्रमुख प्राथमिकता दिँदै आएको छ ।
सभाको अवसरमा कम्प्युटर हस्तान्तरण
योङ्ग स्टार क्लवको साधारण सभाको अवसर पारेर क्लवका सदस्य रविराज श्रेष्ठवाट सहयोग स्वरुप प्राप्त कम्प्युटर क्लवले दोर्पू प्रावि छुल्यामु र क्लवका विभागहरुलाई हस्तान्तरण गरेको छ । क्लवका अध्यक्ष बुद्धिनारायण श्रेष्ठले दोर्पू प्रावि छुल्यामुका प्रधानाध्यापकलाई विद्यालय प्रयोगको लागि दुई थान कम्प्युटर हस्तान्तरण गर्नुभएको हो । यस्तै क्लव अन्तर्गत बाल परिचालन विभाग, खेलकुद विभाग र साँस्कृतिक विभागको आन्तरिक प्रयोजनका लागि समेत साधारण सभाकै अवसरमा सम्बन्धित विभागका प्रमुखहरुलाई कम्प्युटर हस्तान्तरण गरिएको थियो ।

Leave a comment