नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा, सोलुखुम्बु, प्रकोप ब्यवस्थापन समितिको आज बसेको बैठकले सदरमुकाम सल्लेरी नजिकै रहेको नयाँ बजारमा भएको आगलागिबाट पिडितहरुका लागि संकलित रकम बितरण प्रक्रिया निर्धारण गरेको छ । आज जिल्ला शाखामा ब्यवस्थापन समितिका संयोजक बुद्धिकुमार राजभण्डारीको अध्यक्षतामा बसेको बैठकले संकलन भएको राहत रकम बितरण प्रक्रिया निर्धारण गरेको हो । बैठकले एउटा घर भाडामा लिएर बसेका तथा सम्पुर्ण जायजेथा गुमेका, आफ्नो घर पुर्ण रुपमा गुमाएकाहरुलाई पहिलोस्तरको राहत बितरण गर्ने निर्णय गरेको छ । त्यस्तै भाडा, कोठा वा ब्यापार ब्यवसाय गरेर बस्ने १ लाखभन्दा बढी क्षति ब्यहोर्ने जोसुकै प्रभावितलाई दोश्रो स्तरको तथा त्यसभन्दा कम क्षति हुनेलाई तेश्रो स्तरको राहत बितरण गर्ने निर्णय गरेको छ । बैठकमा प्रमुख जिल्ला अधिकारी यादब सुबेदी, स्थानिय बिकास अधिकारी नारायणप्रसाद मैनालि, बिभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधि, अन्य कार्यालय तथा सुरक्षा निकायका प्रमुख, संघसंस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । हालसम्म आगलागि पिडितहरुका लागि जिल्ला शाखाले ९७ हजार ४५ रुपैंया संकलन गरेको छ भने योङ्ग स्टार क्लवले ७५ हजार, सोलुखुम्बु बहुमुखि क्याम्पसले ३० हजार, नेवार समाज गुठीले १३ हजार, डाँफे प्रकोप जोखिम ब्यवस्थापन संस्था गार्माले ११ हजार १ सय ११ रुपैंया, हिमालि प्रकोप जोखिम ब्यवस्थापन संस्था, गार्माले ५ हजार ८५ रुपैंया, अमेरिका स्थित पिटि च्यारिटीले १ हजार डलर, गाविस सचिवहरुबाट ६५ हजार तथा नेबिसंघ र अनेरास्वबियूबाट २० हजार ८ सय रुपैंया संकलन भएको छ ।